लोकतान्त्रिक सामन्तवाद बारे केही कुरा

  •   काभ्रे
  •   ८ भाद्र २०७७, सोमबार
  •   पलान्चोक साप्ताहिक

लोकतन्त्रको स्थापनाका लागि नेपाली जनताले शदियौं देखि लडे । कति रगत पसिना बगाए कतिले ज्यानको आहुति दिए । कति बेपत्ता भए त कति अपाङ्ग भए । जसको बलिदानले यो मुलुकमा लोकतन्त्र स्थापना भयो ।
मुलुकमा लोकतन्त्र स्थापना गर्न जसले बलिदान गरे तिनीहरूको पहुँच आजको व्यवस्थामा के कति होला त्यसको मुल्याँकन समय क्रमले देखाउँदै जाला तर सत्ताको रसस्वादन गर्नेहरू भने हिजो बलिदान गर्नेहरू मध्ये पक्कै छैनन् भन्न सकिन्छ । आधारभूत तहका जनताको हक हितको रक्षार्थ उत्कृष्ट भनिएको व्यवस्था मुलुकमा स्थापना भई गति लिईरहेको अवस्थामा आधारभूत तहका जनताको होईन विचौलियाको पहुँच चाहीं पक्कै कायम भएको छ भन्न सकिन्छ ।
जनताको मतबाट मुलुकमा लोकतन्त्र स्थापना भए पछि पनि धेरैवटा पार्टीको नेतृत्वमा धेरैवटा सरकार बने । आफ्नो पालामा कसैले केहि गरे त कसैले केहि तर पनि जनताको जनजिविका र विधिको शासनका पक्षमा कुनै पनि सरकारले कुनै पनि काम गरेन भन्दा फरक पर्दैन । नदीमाथी पुल नभएर स्कूल जान नपाउने साना बालबालिका, एम्बुलेन्स नभएर अस्पताल पुग्न नपाउने सुत्केरी बेथाले च्यापिएकी महिला, सिटामोल र जीवनजल नपाएर छटपटिएका बिरामी, घरमा अन्नको दानो नभएर खाद्य संस्थानको डिपोमा पाँच किलोग्राम चामलका लागि तीन दिन हिंडेर लाईन बस्न बाध्य नागरीकको व्यथामा कुनै सुधार आएको छैन । सुधार आएको छ त केवल दलाल, भ्रष्ट नेता र ठुला व्यापारीहरूको मात्र !
लोकतन्त्र आउनु पूर्व आज राज्यको नेतृत्व गर्ने नेताहरूको आर्थिक हैसियत के थियोे केलायो भने सत्य छर्लङ्ग हुन्छ । हिजो हात्तिछाप चप्पल पड्काएर हिंडने नेताको आजको हैसियत के छ र जिवनशैली के छ भनेर चर्चा गर्नै नपर्ने अवस्थामा हामी छौं भने भ्रष्टाचारको चुरो कता छ भनेर भन्नै पर्दैन । नेताको फेरिएको जिवन शैली र चरित्र नै मुलुकको भ्रष्टाचारको जरो हो । जसको आडमा दलाल, नोकरशाही र ठुला व्यापारीहरूले राज्यको दोहन गरिरहेका छन् । विकासका नाउँमा दोहन, खरिद बिक्रीमा दोहन, पारिश्रमिकमा दोहन, भ्रमण, तालिम, गोष्ठि र कार्यशालामा दोहन निरन्तर भईरहेका छन् । ठेकेदारले स्तरहीन काम गरेर दोहन गर्ने, प्राविधिकले सोही कामलाई विना मुल्याँकन निरिक्षण दोहन गर्ने, लेखापालले मनपरी बिलमा आँखा चिम्लिएर दोहन गर्ने, हाकिमले आँखा चिम्लिएर सदर गरेर दोहन गर्ने, जनप्रतिनिधिहरूले आँखा चिम्लिएर योजना फरफारक गरेर दोहन गर्ने क्रम निरन्तर चलिरहेको छ ।
यस बिचमा नेताको स्वभाव, शैली र आचरणमा आएको अस्वभाविक परिवर्तनले लोकतन्त्रको जरा निरन्तर मक्काउँदै छ । तीन तहका सरकार सक्रिय रूपले परिचालित रहेको मुलुकमा ती सरकारहरूले गरेका नीतिगत भ्रष्टाचारमात्र केलाउने हो भने जिब्रो काढ्नु पर्ने अवस्था छ । आफ्ना आसेपसेको भरण पोषणका लागि योजना तय गरी बजेट व्यवस्था गर्ने, जनप्रतिनिधिहरू टिपर, डोजर चलाउने गरी बजेट बिनियोजन गर्ने, जनप्रतिनिधि नै पर्दा पछाडी ठेकेदारसंग मिलेर ठेक्कालाग्ने योजना बनाउने सेटिङ् मिलाउने जस्ता कार्यले लोकतन्त्रलाई खोक्रो पार्दै लगेको छ । हिजो एक कप चिया पनि अर्काको पैसाले खाने मानिसहरू सत्ताको कुर्सीमा पुगे पछि उनिहरूको हाउभाउ, बोलिबचन बदलिएको छ । यसका अतिरिक्त उनीहरूको साथ संगत पनि बदलिएको छ जसले उनीहरूलाई जनप्रतिनिधि, जनताको सेवक भन्दा पनि सामन्तको मुखिया जस्तो बनाई दिएको छ । जुन कुराको सामान्य हेक्का नराख्दा व्यवस्था र पार्टीको छवि गिर्दाे छ । पार्टीबाट उम्मेदवार बनेर चुनाव लड्ने तर जिते पछि पार्टी केहि पनि होईन सबैथोक मैं हुँ भनेर हिंड्ने प्रवृत्ति यस बिचमा निक्कै मौलाएको छ । यसलाई साँच्चै भन्नुपर्दा लोकतान्त्रिक सामन्तवाद भन्नु पर्ने हुन्छ । हिजो खप्परमा बत्तिबलेकाहरूले भोलि पनि बत्ति आफ्नै खप्परमा बल्छ भनेर सोचेका होलान् तर त्यो सपना मात्र हो । आजको गणतन्त्र समाजवाद तर्फ जाला नजाला तर प्रतिगमन तर्फ गयो भने त्यसको कारक भनेको यीनै लोकतान्त्रिक सामन्तवादीहरू नै हुनेछन् ।
शहीद परिवार, घाईते, अपाङ्ग र बेपत्ता परिवारको आँखामा जहिलेसम्म आँशु छचल्किरहन्छ तहिले सम्म यो लोकतन्त्रको कुनै मुल्य हुने छैन । त्याग र बलिदान गर्नेको मुहारमा जहिलेसम्म मुस्कान सहितको उज्यालो देखिँदैन तबसम्म यो लोकतन्त्रको कुनै गौरब रहने छैन । गरिब निमूखा जनताको चुलो सहजै जहिलेसम्म बल्ने छैन तबसम्म यो लोकतन्त्रको कुनै अर्थ हुने छैन । सत्य यहि हो तर पनि नेताका वरीपरी तीनकै जुठोपुरोमा रमाएर घुमिरहने लाउकेहरूको बोलवाला रहेसम्म यो लोकतन्त्रले सुन्दरता प्राप्त गर्न सक्ने देखिंदैन । जनताको अभिमतलाई आज तुच्छ ठानेर मनपरी गर्ने प्रवृत्तिलाई जनताले राम्रै संग नियालिरहेका छन् । त्यसको हिसाब चुक्ता जनताले गर्ने नै छन् भन्ने हेक्का सरोकारवालाहरूले राखुन् । हिजो जनता आशावादी र विश्वस्त थिए । आज जनता निराश र आक्रोशित छन् । कतै भोलि जनता क्रुद्ध नहोउन् भन्ने तर्फ सचेत होउन बस्….