बनेपा–पनौती, पनौती–खोपासी र पनौती–कुशादेवी सडकमा सवारीसाधन र पैदलयात्रुलाई सकस

  •   काभ्रे
  •   ८ भाद्र २०७७, सोमबार
  •   पलान्चोक साप्ताहिक

बनेपा\वर्षातमा ग्रामीण सडकहरु हिलाम्य हुने नै भए । तर, शहरी सडकहरुसमेत हिलाम्य भएर सवारीसाधन र पैदलयात्रुको हरिबिजोग हेर्न टाढा जानु पर्दैन । काभ्रेको प्रमुख व्यापारिक शहर बनेपालाई दक्षिणको व्यापारिक केन्द्र पनौती–खोपासीसम्म जोड्ने एवं ललितपुर र काभ्रेलाई जोडने ग्वार्को–पनौती रणनीतिक सडक(फीडर रोड) को पनौती–कुशादेवी खण्डमा सवारी साधनमा यात्रा वा पैदल हिँड्नु भए हुन्छ ।
सडकभरि खाल्डाखुल्डी छन् । सवारी आवतजावतमा समस्या छ । घाम लग्दा मोटरसाइकल चालक र बटुवाहरू धुलाम्मे हुने गरेका छन् । धुलो उडेर सडक आसपासका घरहरुमा कुहिरीमण्डल हुन्छ । धुलोकै कारण रुखाघोकीलगायतका स्वाशप्रश्वासका समस्या बढ्दो छ । अलिकति पानी पर्ने बित्तिकै हिलाम्य भएर सडकमा निस्कनै सकिन्न । काभ्रेका बनेपा–पनौती, पनौती–कुशादेवी र पनौती–खोपासी सडकमा जोकोहीले आजकल भोग्ने समस्या यिनै हुन् ।
सडक डिभिजन कार्यालय भक्तपुरअन्तर्गत पर्ने यी दुबै सडकमा वर्षेनी लाखौं रकम खर्च हुँदै आएको छ । तर, सडक उपभोक्ताहरुले कहिल्यै पनि सास्तीबेगर उपभोग गर्न पाएका छैनन् । दैनिकजसो बनेपा–पनौती यात्रा गर्ने काभ्रेका दक्षिणीभेगका हजारौं यात्रुहरुलाई मर्का परिरहँदासमेत जिम्मेवार निकाय र निर्माणमा संलग्न ठेकेदारले वास्ता गर्नै छाडेका छन् । सडकको निर्माणमा भएको हेलचक्र्याँइले पछिल्लो समय सडक दायाँबायाँका बासिन्दाहरु धूलोधुँवा र हिलोको प्रत्यक्ष मारमा पर्दै आएका छन् । २०४२ सालमै पीच भएको सडकमा वर्षेनी ग्राभेल र टुक्रे पीच हाल्दै टालटुल गरिरहेकै अवस्थामा ६ वर्ष अघि रिसिलिङ कार्य पनि भयो ।
तर, त्यो पनि बढी भार बोक्ने टिपर गुडेकै कारण ६ महिनासम्म पनि टिक्न सकेन । त्यतिखेर ठिकठाक अवस्थामा रहेको सडकको ३ किलोमीटर खण्डलाई कालोपत्रे गर्ने भन्दै डिभिजन सडक कार्यालय भक्तपुरले गौरीपार्वती/नयाँ युग जेभीलाई ४ करोड १३ लाख रुपैंयामा ठेक्का दिएको थियो । ठेकेदारले सुब्बागाउँदेखि श्रीखण्डपुर चोकसम्मको करीब अढाइ किलोमीटर सद्दे पीचलाई उक्काएपछि खाल्डाखुल्डी बढेको मात्रै नभई कुइरीमण्डल धुँवासमेत उड्न थालेपछि स्थानीयले केही दिन सडक बन्द गरेका थिए । पछि सिडियोको सक्रियतामा बाटो छिटो सक्ने गरी स्थानीय, सडक र ठेकेदारवीच सहमति भएको थियो ।
त्यसपछि चार वर्ष अगाडि बनेपा–पनौती ६ किलोमीटर मर्मत सम्भारलाई विजय÷घिसिङ जेभीलाई सडकले ठेक्का दियो । त्यतिखेर बनाएको नाली गुणस्तरिय नहुँदा नाली बनि नसक्दै भत्कन थालेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले ठेकेदारले गर्दै आएको कामलाई अनुगमन नगर्दा लापरवाही बढेको स्थानीयको आरोप थियो । १८ सय मीटर पीचको समेत विजय÷घिसिङ जेभीले नै ठेक्का पाएको थियो । ठेकेदारले बाटो मर्मत थालेको डेढ वर्षसम्म पीचको काम थाल्नु पर्नेमा कहिले वर्खा, कहिले के के भन्दै आलटाल गरिरहँदा त्यतिखेर पनि सबैले सास्ती खेपेका थिए ।
अघिल्लो वर्ष पनि धनेश्वर क्षेत्रमा नाली र सडक बिस्तारको काम भइरहेको देखिन्थ्यो । तर, कसले र कति रकममा ठेक्का पारेको हो कसैले जानकारी नै नपाई सडकले भुक्तानी दिएको बुझिएको छ । अहिले पनि बनेपा पनौती सडकको श्रीखण्डपुरदेखि पनौतीसम्म सडक फराकिलो पार्ने र नाली बनाउने काम भइरहेको छ । सो क्रममा भएको सडकको पीच सबै उप्किएको छ । बाटोमा जताततै खाल्डाखुल्डी पर्न थालेको छ । बाटोको छेउछाउमा ग्राभेल थुपारेको देखिए पनि खाल्डाखुल्डीमा कसैले हाल्ने गरेको छैन । नाली बनाउने क्रममा फर्मा राखेर त्यसभित्र ढुंगा हाल्दै ढलान गरेजस्तो देखाएपनि गुणस्तरिय निर्माण नभएको ढलमलेका स्थानीयको गुनासो छ । ‘को ठेकेदार हो, कतिमा ठेक्का हालेको हो, के कति बनाउने हो जानकारी छैन । कामदारहरुले आफुखुशी काम गरिरहेका छन् । सडक कार्यालयबाट अनुगमन भएको पनि देखिन्न । यो कस्तो विकास निर्माण हो’, एक स्थानीयले भन्नुभयो ।
यस्तै हालत पनौती–खोपासी सडकमा पनि देखिन थालेको छ । दुई खण्डमा सडक बिस्तार हुन थालेकोमा एक खण्डको ठेकेदारले सडकको नाली र खेतपट्टि पर्खाल लगाएको छ । पीचका लागि बेस ओच्छाएको ठेकेदारले ‘लक डाउन’मा सामान ओसार्न नपाएको र वर्खा लागेपछि पीच गर्न नहुने भन्दै काम स्थगित गरेको छ । पीचजस्तै भइसकेको सडकमा अहिले भैंसी आहाल बस्ने बडेमानका खाल्डाखुल्डी परेको छ । सोही सडकको अर्को खण्डमा सडकको नाली र टेवा पर्खाल बनाउने ठेक्का पाएको सिन्धुपाल्चोकतिरका ठेकेदार काम नै अधूरो छाडेर फर्मालगायतका निर्माण सामग्री लिएर गइसकेका छन् ।
पनौती–कुशादेवी सडकको दुर्दशा त भनि साध्य छैन । पनौतीबाट खारीबोट उकालो लाग्ने बित्तिकै साना सवारी साधन र पैदलयात्रुको हालत भनिसाध्य छैन । लामाडोलदेखि रयालेको पुरानो पीचसम्म सितिमित जानै सकिँदैन । केही महिना त रयालेका स्थानीयहरु रानीकोट भक्तपुर हुँदै बनेपासम्मको कष्टपूर्ण यात्रा गर्न बाध्य भए । बनेपा–पनौती सडकमा दैनिक १ हजारभन्दा बढी सवारी साधनहरु गुड्ने गरेको छ । यीनमा बढी भार बोकेका टिपरको बाहुल्य रहेको छ । दैनिक ३ सयको हाराहारीमा टिपर गुड्ने गरेको छ । पनौती र बेथानचोक गाउँपालिकामा भएका खानी र क्रसरहरुबाट उत्पादित रोडा ढुंगा ढुवानी गर्ने क्रममा बनेपा–पनौती–मल्पी र खोपासीसम्मको सडकमा बढी मार पर्दै आएको छ । यही सडकमा काभ्रे मिनिबस सेवा समितिले दैनिक डेढ सय वटा मिनिबस गुडाउने गरेको छ ।
अब २०७८ सालको माघ महिनाभर पनौतीमा १२ वर्षे मकर मेला लाग्दैछ । काभ्रेपलाञ्चोक जिल्लाकै गौरवको महामेलाका रुपमा लिइने यो मेलामा सवारी साधनको चाप बढ्न सक्ने हुँदा अहिल्यैबाट योजना बनाउन थाल्नु पर्ने आवश्यकता देखिएको छ । बनेपा–पनौती सडक तीन वटा नगरपालिका(बनेपा, धुलिखेल र पनौती) हुँदै मानेश्वरी पार्कमा पुगेर सकिन्छ । बाटो बेहाल हुँदा पनौती नगरपालिकाले बेलाबखत मर्मत सम्भारमा चासो लिए पनि अन्य नगरले लिने गरेका छैनन् । बरु यही सडक आसपासमा बस्ती बढ्दै गएको र सेक्युरिटी प्रेस स्थापना हुने भएपछि सीमानाको किचलोमा अल्झेका छन् ।