चुनावमा गरेका बाचा अनुसार नै काम गरिरहेका छौ

  •   काभ्रे
  •   ८ भाद्र २०७७, सोमबार
  •   पलान्चोक साप्ताहिक

आजकल के मा व्यस्त हुनुहुन्छ ?
आजभोली भनेको त भर्खर नयाँ आर्थिक वर्षको सुरूवात भएको छ । कोरोना भाइरसको महामारीको कारण हामीले केही समयको लागि कार्यालय बन्द गरेका छौँ । आपतकालिन अवस्थामा कार्यालय जान्छौँ । अहिले कोराना भाइरसको काम कुरामा नै व्यस्त छौँ ।
यो सालका लागि तपाईको निकायमा मुख्य के के योजना अघि सार्नु भएको छ ? बजेटको अवस्था के छ ?
अहिलेको अवस्थामा त विशेष गरी कोरोना भाइरसको कुराहरूलाई नै प्राथमिकतामा राखेका छौँ । यसको लागि हाम्रो नगरपालिकामा २ करोड रूपैँया बजेट छ । त्यसैगरी यो बाहेकका अरू बजेट भनेको पूर्वाधार विकासका काममा नै छन् । विकास निर्माण अन्तर्गत पूर्वाधारको कुरामा पनि विशेष गरी अहिले एक वडा एक पिच सडक भन्ने अवधारणलाई अघि सारेका छौँ । त्यसैगरी अहिले सुनकोशी खानेपानीको वृहत योजना अघि सारेका छौँ । खानेपानि नपुगेको घरहरूमा खानेपानि पुर्‍याउने हाम्रो उद्देश्य रहेको छ । योसँगै महिला लक्षित कार्यक्रमहरूलाई पनि हामीले विशेष प्राथमिकतका साथ अघि सारेका छौँ ।
चुनाव ताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
चुनावको समयामा हामीले ‘एक घर एक धारा’ को लागि हामीले जनता सामु प्रतिबद्धता गरेको थियौँ । यो लगभग पुरा हुने क्रममा छ । बाँकी रहेका योजनाहरूलाई हामी आगामी वर्षसम्ममा पुरा गर्ने नै छौँ । विशेष गरी यो खानेपानिको लागि गरिएको प्रतिवद्धता अनुसार सुनकोशी वृहत् खानेपानिको योजना पनि पुरा हुने क्रममा नै छ । अर्को भनेको पाँचखाल नगरपालिकामा कृषि क्याम्पस स्थापना गर्ने भनेर हामीले प्रतिबद्धता गरेको थियौँ । यो पनि लगभग अन्तिम चरण पुगिसकेको छ । वडा नं २ को अनेकोटमा स्थापना हुने तयारी पुरा हुन लागेको छ । त्यसपछि ३ हजार व्यक्तिलाई रोजगारीको अवधारण भनेको थियौँ । त्यसको लागि पनि हरित महिला ग्राम पनि सञ्चालन हुने क्रममा रहेको छ । सेजको कार्यक्रमहरू पनि अगाडी बढिसकेको छ । सीपमुलक कार्यक्रमहरू पनि अगाडी बढाएका छौँ । यो पनि चुनावको बेलामा हामीले गरेको प्रतिवद्धता अनुसारको नै कार्यक्रम हो ।
जनताले घरमै सिंहदरवार महशुस हुने के के काम गर्नुभयो ?
गाउँघरमा नै सिंहदरवार भन्ने कुरा गर्नुपर्दा हामीले अहिले कर तथा राजस्व तिर्ने कुराहरूमा आफ्नो वडा स्तरबाट नै मिल्ने व्यवस्था मिलाएका छौँ । त्यसैगरी सामाजिक सुरक्षा भत्ताको कुरामा पनि हामीले अहिले बैंकिङ प्रणाली मार्फत हुने व्यवस्था गरिसकेको छौँ । पञ्जिकरणको कामहरू पनि सफ्टवयरको माध्यमबाट हुने व्यवस्था गरेको छौँ । धेरैवटा कामहरू घरमा नै बसेर गर्न मिल्ने बनाएका छौँ । यसले नागरिकहरूलाई टेवा पुगिरहेको छ भन्ने कुरामा हामीले विश्वास व्यक्त गरेका छौँ ।
शिक्षाका लागि के के गर्नु भयो ?
सबैभन्दा पहिले त भुकम्पपछि हाम्रो नगरपालिका भित्र रहेको विद्यालयहरू चिराचिरा परेका थिए । धेरै वटा भत्किएको थियो । यो सबै कुराहरूलाई हामीले मिलाउदैँ पुन निर्माणको कामलाई अघि बढायौँ । केही त अझैँ बाँकी रहेका छन् । विद्यालयमा इलेक्ट्रिक हाजिरका कुराहरू पनि व्यवस्था गरेका छौँ । हाम्रो नगरपालिकामा ३९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । यी सबै विद्यालयमा हामीले सिकाई केन्द्रको स्थापना गरिसकेका छौँ । शिक्षकहरूको लागि आवश्यक विभिन्न खालका तालिमहरू प्रदान गर्ने गरेका छौँ । शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने कुरा र खेलकुदका कुराहरू अघि बढाएका छौँ । माध्यमिक तहको लागि खेलकुदका कार्यक्रमहरू धेरै ल्याएका छौँ ।
तपार्ईको निकायमा स्वास्थ्य, खानेपानी तथा सडकको अवस्था के छ ?
एक वडा एक स्वास्थ्य चौकीको अवधारणा थियो हाम्रो । हामीले जनतासामु प्रतिवद्धता पनि गरेका थियौँ । अहिले हाम्रो त्यो अवधारणा पुरा भएको छ । अहिले १३ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा ल्याएका छौँ । अहिले हामीले बर्थिङ सेन्टर पनि सञ्चालन गरेका छौँ । अहिले हामीले ३ वटा ल्यावको पनि स्थापना गरेका छौँ । आगामी दिनमा हामी सबै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्न तर्फ लाग्छौँ । गर्भवती महिलाईलाई टोलटोलमा नै पुगेर भिडियो एक्सरे गर्ने कुरामा पनि हामी लागिरहेका छौँ । आइरन र क्याल्सियम पनि निःशुल्क व्यवस्था गरेका छौँ । खानेपानिको लागि त हाम्रो नगरपालिकामा काकाकुल हुने अवस्था नै आइसकेको थियो । तर अहिले केही हदसम्म समाधान भएको छ । केही तयारी अवस्थामा रहेको छ । १० वटा डिपबोरिङ सञ्चालनमा ल्याएका छौँ । सडकको कुरामा सबै टोलमा बस्ती नयाँ ट्रयाक पुगिसकेको छ । अबको दिनमा भने हामी ती सडकहरूलाई पिच गर्न तर्फ लाग्छौँ ।
पालिका भित्र २४ सै घन्टा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ ? एम्बुलेन्स सेवा संचालन भएको छ ?
यसमा बर्थिङ सेन्टर भएको ठाउँमा २४ घण्टा सेवा प्रदान गरेका छौँ तर अहिले बर्थिङ सेन्टर नभएका वडाहरूमा भने कार्यालय समयमा मात्र सेवा दिन सकेका छौँ । एम्बुलेन्सको कुरा गर्नु पर्दा नगरपालिकाबाट नै सञ्चालनमा ल्याएका छौँ । बर्थिङ सेन्टर भएका ठाउँहरूमा पनि एम्बुलेन्स सञ्चालनमा आएको छ । तत्कालको कुरा गर्ने हो भने हाम्रो नगरपालिकामा अहिले ५ वटा एम्बुलेन्स सञ्चालनमा आइरहेका छन् । यसमा ३ वटा नगरपालिकाको नै मातहतमा रहेर सञ्चालन हुने गरेको छ ।
गरिब र असाहयका लागि गम्भीर प्रकृतिको रोग लाग्दा केही आर्थिक सहयोग दिने नीति छ ? छ भने के के छ ?
यो विषयमा हामीले नीति तथा कार्यक्रममा नै राखेका छौँ । हामीले अहिले पालिका भित्रका कोही दीर्घरोगि छन् भने नगद रू १० हजार प्रदान गर्दै आइरहेका छौँ । गरिब तथा असाहयको लागि भनेर हामीले यस्तै खालका विविध कार्यक्रम ल्याएका छौँ । जस्तै, कसैलाई मानसिक रोग लागेको छ भने महिनाको एक पटक डाक्टरलाई देखाउनको लागि हामीले नगरपालिकाबाट नै व्यवस्था गरेका छौँ ।
कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
हाम्रो पालिकामा आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण यी ४ वटै कार्यक्रम छ । यसको लागि हामीले विभिन्न संघ संस्थाको सहयोग पनि लिइरहेका छौं । उहाँहरूले हामीलाई धेरै नै सहयोग गरिरहनु भएको छ । उहाँहरूले धेरै राम्रो काम गरिरहनुभएको छ । हामीले पनि कृषिउपज वितरण गर्ने काम गरिरहेका छौँ । कृषिलाई हामीले प्राथमिकता दिएर काम गरेका छौँ ।
पालिकास्तरमा भूउपयोग नीति तयार गरि बस्ती, खेति, औद्योगिक, पार्क र वन क्षेत्र घोषणा भएको छ ?
हाम्रो पालिकामा भूउपयोग नीति तयार भइसकेको छ । यसलाई पास गर्न मात्र बाँकी रहेको छ । वडा नं ७ लाई औद्योगिक क्षेत्र भनेर नै अगाडी बढ्ने हाम्रो तयारी छ । बस्ती, खेती, औद्योगिक, पार्क र वन क्षेत्रलाई कसरी सदुपयोग गर्ने भन्ने तर्फमा नै हामी उन्मुख छौँ । यसको लागि अब तयार भएको नीति पास गरेपछि यी विषयमा काम गर्नको लागि झन सहज हुने हाम्रो अनुमान छ ।
जमीन बाँझो राख्न नपाउने कुरालाई अनिवार्य गर्न सकिएला ?
अहिले नीति तथा कार्यक्रममा राखेका छौँ । हामी पनि खटिएर लागेका छौँ । बाँझो जमीनमा फलफुलका बिरूवा मात्र भए पनि लगाउने भन्ने कुरा हामीले नीति तथा कार्यक्रममा राखेका छौँ । अहिले कोरोनाको कारण सबै जना घर नै भएकाले सबैलाई कृषिमा लाग्नको लागि हामीले प्रेरित गरिरहेका छौँ । मलाई लाग्छ यो आर्थिक वर्षमा हाम्रो नगरपालिकाको कुनै पनि जमीन खालि हुदैँनन् । सम्पूर्ण नगरबासीलाई पनि यो कुरामा लाग्नको लागि पनि अनुरोध गर्न चाहे ।
महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरू छन् ?
अहिले हामीले लक्षित वर्गको लागि भनेर आर्थिक आय आर्जनको कामर्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छौँ । उद्यमशिलताका कार्यक्रमहरूलाई हामी अगाडी बढाउछौँ । उत्पादन गरेको सामग्रीमा बजारिकरणमा पनि हामी लागेको छौँ । नगरपालिकामा नै कोशेली घर भनेर स्थापना गर्ने र बजारिकरणको काममा यसरी उहाँहरूलाई सहयोग गर्ने भन्ने रहेको छ । यस्तै अर्को भनेको आर.जे.को तालिमहरू पनि दिएर उहाँहरूलाई सहयोग गर्ने भन्ने रहेको छ ।
कार्यालयबाट सम्पादन हुने सबै कामहरूको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी त्यस बमोजिम अनुसरण भएका छन् ? छैनन् भने कहिलेबाट गर्नुहुन्छ ?
पाँचखाल नगरपालिका अन्तर्गतका वडा कार्यालय तथा नगरपालिकामा हामीले वडा पत्र राख्ने गरेका छौँ । सबै कामहरू वडापत्र अनुसारका नै हुन्छन् । यो विषयमा हाम्रो काममा पारदर्शी नै छ जस्तो लाग्छ मलाई ।
पालिकामा त्रैमासिक समीक्षा अनिवार्य गरि दण्ड र पुरस्कारको व्यवस्था छ कि छैन ?
यो दण्ड र पुरस्कारका कुरामा हाम्रोमा पनि लागू भएको छ । कर समयमा तिर्ने, राम्रो उद्यम सञ्चालन गर्ने र कृषिमा राम्रो गर्नेहरूको लागि हामीले पुरस्कारको व्यवस्था गर्ने गरेका छौँ । नराम्रो काम गर्ने जस्तै राजश्व र कर नतिर्ने वा चल्लनेलाई सजाए दिने काम पनि गरेका छौँ । पुरस्कार लिनेको संख्या बढोस् तर सजाय लिनेको संख्या घटोस् हाम्रो यही अपेक्षा हो ।
पालिकाको वेबसाईट निर्माण गरि पारदर्शी र प्रविधियुक्त छ ?
हाम्रो वेबसाईट छ । यसलाई हामीले सही तरिकाले चलाई पनि रहेका छौँ । हामीले गरेका गरेक गतिविधि हामीले हाम्रो वेबसाईटमा राख्ने पनि गरेका छौँ । यो कुरामा चाही हाम्रो काम पारदर्शी नै छ जस्तो मलाई लाग्छ । भन्नुपर्दा प्रविधियुक्त नै छ ।
कहिलेकाँही अनियमितताका कुरा आउँछन् भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाइएको छ ? नतिजा कस्ता आएका छन्?
भ्रष्ट्राचारमा शून्य सहनशिलता नै छ हाम्रो पालिकामा । अहिलेसम्म नगरपालिका भित्र भ्रष्ट्राचार भयो भन्ने कुरा बाहिर आएको छैन । भोलिका दिनमा पनि यस्तो खालको कुरा नआओस् भन्ने लागि हामीले पोष्टर र पम्प्लेट टास्ने काम पनि गरिरहेका छौँ । यदी भोलिको दिनमा पनी यस्तो खालको कुरा आयो भने हामी कानुनी उपचारका कुराहरूमा अगाडी बढ्ने नै छौँ ।
अन्तिममा केही ?

पाँचखाल नगरपालिकामा अहिले हामीले सहकारीसँग मिलेर काम गरिरहेका छौँ । यसमा हामीले संकलन केन्द्र पनि स्थापना गरेका छौँ । विषादी मुक्त तरकारी उत्पादनमा लाग्ने प्रयास गरेका छौँ । सबैलाई म यहीबाट हाम्रो नगपालिकामा उत्पादन भएको तरकारी विषादी मुक्त छ भनेर जानकारी गराउन चाहन्छु । सँगै, अहिले कोरोनाको महामारीको कारण सबैलाई घरमा नै सुरक्षित भएर बस्नको लागि पनि म अनुरोध गर्दछु । हामी सुरक्षित रहे नगर सुरक्षित रहन्छ । पाँचखालका आम नागरिहरूलाई पनि म यही भन्न चाहन्छु ।