कोरोना कहर: क्वारेन्टाइनमा बस्दाको आफ्नै अनुभव :-राजकुमार मल्ल

  •   काभ्रे
  •   १२ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल

अहिले म आफैं ७ दिनदेखि क्वारेन्टाइनमा बसेको छ, यहाँको अवस्था भोगिरहेको छु । माथि उल्लेखित मापदण्ड अनुसारको सुविधा नभएको मात्र होइन, सरकारले निर्धारण गरेको मापदण्डको ५० प्रतिशत सुविधा भएको भए पनि हाम्रो गुनासो हुने थिएन ।

राजकुमार मल्ल
वडा सदस्य
मण्डनदेउपुर-२

म राजकुमार मल्ल मण्डन देउपुर नगरपालिकाको निर्वाचित वडा सदस्य हुँ । राजनीति गर्नेले चन्दा उठाएर खाने वा वडाको काम गराएर कमिसन खाने प्रवृतिको म सख्त विरोधी हुँ । केही वर्षअघिदेखि मैले पर्यटन व्यवसाय सुरु गरेको थिएँ । ठमेलमा कार्यालय राखेर काम गरेको केही वर्ष भयो । पर्यटन प्रवर्धनका लागि माघको दोस्रो साता मलेसिया गएको थिएँ । मलेसिया बस्दा बस्दै सिंगापुर जानै पर्ने अवस्था आएकाले म केही दिनका लागि सिंगापुर गएको थिएँ । त्यहाँ ११,१२ दिन बसेर मलेसिया नै फर्किएँ । मलेसियाको काम नसकिदै नेपालमा चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) सुरु भयो । अन्तराष्ट्रिय हवाई उडान सबै बन्द भए, नेपाल आउन सक्ने सम्भावना नै भएन । १०४ दिनसम्म मलेसियामा बस्न म बाध्य भएँ । जव नेपाल सरकारले विभिन्न देशमा काम विशेषले गएकाहरुलाई ल्याउन सूचना जारी गर्यो, तव खुशीको सिमा नै रहेन । त्यो कुरा घरपरिवार, साथीभाइ सबैलाई जानकारी गराएँ । आउनु अगाडी मलेसियामै पीसीआर टेष्ट गराएको थिएँ । किन भने मेरो स्वस्थको ख्याल मैले नै गर्ने हो भन्ने कुरामा म सचेत नै छु । मलाई केही हुँदा मेरो घर परिवारले व्यहोर्नु पर्ने पीडा म कल्पना पनि गर्न सक्दिन ।

त्यसैले ढुक्क भएर गत ४ गते नेपाल फर्कने तयारी गरें र मलेसियाको समय अनुसार ३ बजेको उडानका लागि ४,५ घण्टा अगाडि नै म एयरपोर्ट पुगेको थिएँ । केही समय ढिला गरी हिमालयन एयरलाइन्सको जहाज नेपालतर्फ उडेपछि मनमा अनेकौं तरंगका ज्वारभाटाहरु छछल्किन थाले । जन्मभूमि नेपाल टेक्न पाउनु नै ठूलो कुरा थियो मलेसियामा रहदा तर नेपाल आउने पक्का भएपछि नेपालको क्वारेन्टाइन, घरपरिवार, साथी भाइलाई सम्झन पुगेँ । किन भने विदेशबाट स्वदेश फर्कनेहरुका लागि परिक्षण र क्वारेन्टाइन अनिवार्य गरिएको थियो, सार्वजनिक यातायातका साधन कुनै चलेका थिएनन् । जाने कसरी भन्ने चिन्ता पनि सँगसँगै थियो । गत असार ४ गते साँझ ६ बजे हामी त्रिभुवन विमान स्थलमा आइपुग्दा त्यहाँ नेपाली सेनाले हामीलाई लैजानका लागि प्रदेश अनुसारको गाडीको व्यवस्था गरेको थियो । विमानस्थलमा विभिन्न प्रश्नहरुले भरिएको फाराम भर्न, हामीसँग सोधपुछ गर्न र आफ्नो लगेज लिन करिव ३ घण्टा लागेको थियो । विमानस्थलबाट मलाई स्वयम्भू स्थित बाग्मती प्रदेशको होल्डिंग सेन्टरमा लगेर चेक जाँच गरियो, मैले मलेसियामा कोरोना भाइरसको स्वाब टेष्ट गराएको रिपोर्ट दिएँ । त्यो सबै हेरेपछि नेपाल आर्मीका कर्मचारी, स्वास्थ्य कर्मीले अनलाइन सम्पर्कमा रहने गरी घरमै क्वारेन्टाइनमा बस्नु होला भनी बिदाइ गर्नु भयो । मलाई लिन गएका घरपरिवारको साथ म मण्डनदेउपुर वडा नम्बर २ स्थित मेरो घरमै आएर सुतेको थियो । मानसिक रुपमा धेरै दिनदेखि थाकेको थिएँ भने शारीरिक रुपमा पनि अघिल्लो दिनको थकान मेटिएकै थिएन । भोली पल्ट पुलिसको भ्यान मलाई लिन आएको थाहा पाउँदा त आश्चर्यमा मात्र परिन मैले आफूमथि ठूलै बज्रपात आइ लागेका सम्झन पुगें । हिडेर आउँदा करिव दुई घण्टा लाग्ने यो क्वारन्टको अबस्था देखेर, भोगेर सरकारलाई भन्न मन लागेको छ– अनुगमन त गर्नु पर्यो नि सरकार । चैत्र १६ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइन अनुगमन र सहजीकरणको जिम्मेवारी दिइएको सुनिएको थियो । त्यस्तै क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यावस्था गरिएको भनिएको थियो । उनी संयोजनक रहेको समितिमा नगरपालिका प्रमुख पनि रहने छन् भनिएको थियो । उहाँहरु भत्ता मात्र पचाउँनु हुन्छ कि क्वारेन्टाइनको सुधार पनि गर्नु हुन्छ ? भन्ने मेरो प्रश्न हो । मैलै कसैमथि पूर्वाग्रह राखेर यो लेख लेखिरहेको छैन । यो प्रतिनिध घटना मात्र हो, नेपालका प्रायः सबै क्वारन्टाइनको अवस्था यस्तै हो । नेपालमा भएका करिव ६० हजार क्वारेन्टाइनमध्ये आधाको मात्र अलीअलि सुधार भएको देखिन्छ ।


चैतको पहिलो सातामै सरकारले क्वारेन्टाइनका लागि मापदण्ड निर्माण गरी सार्वजनिक गरेको थियो । विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका मापदण्ड मैले मलेसियामा हुँदै पढेको थिएँ । सरकारले निर्धारण गरेको मापदण्डमा भनिएको थियो– सम्भव भएसम्म शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको, विद्युत, पानी लगायतका आधारभूत सेवाको उपलब्धतता,     कोठाको व्यवस्थापन प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने । ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुल सहितको खाट, क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्री सहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, ल्याब टेक्निसियन (आवश्यकता अनुसार) हुनुपर्ने मापदण्डमा उल्लेख थियो । जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा अनिवार्य गरिएको भनिएको थियो । कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिक सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा  सुरक्षित तथा व्यवस्थित तरिकाले राख्न मापदण्ड तयार गरिएको हो भनिएको थियो ।  संघीय मामिला तथा समान्य मन्त्रालयले सरकारले निर्धारण गरेको मापदण्ड ७ सय ५३ वटै स्थानीय तहमा पठाइएको भनेको थियो । के अहिलेसम्म हाम्रो नगरपालिकाले वा गाउँपालिका नगरपालिकाहरुले त्यो मादण्ड पाउन सकेका छैनन् ?  कि जानी बुझी वेवास्ता गरिएको हो ? तर यी क्वारेन्टाइन त निरोगी मानिसलाई रोग सार्न बनाइएको घर भएका छन् ।
यो सहित अन्य धेरै व्यवस्था यस मापदण्डमा उल्लेख गरिएका छन् । त्यस्तै मापदण्डमा क्वारेन्टाइनमा बस्दा खाने सयम तालिका पनि सार्वजनिक गरिएको थियो । जसअनुसार बिहान ७ः३० देखि ८ बजेसम्म चिया खाजा, बिहान ११ः३० देखि १२ बजेसम्म दिउसो खाना, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिनेछ भनिएको थियो । अहिले म आफैं ७ दिनदेखि क्वारेन्टाइनमा बसिरहेकोे छु, यहाँको अवस्था भोगिरहेको छु । माथि उल्लेखित मापदण्ड अनुसारको सुविधा नभएको मात्र होइन, सरकारले निर्धारण गरेको मापदण्डको ५० प्रतिशत सुविधा भएको भए पनि हाम्रो गुनासो हुने थिएन ।
मण्डनदेउपुर नगरपालिका ७ नम्बर वडामा रहेको कालिका आधारभूत विद्यालयको भवनलाई क्वारेन्टाइन बनाइएको छ । नौविसे, कुन्तावेशीमा रहेको यो विद्यालय जंगलको बीचतीर पर्छ । न त नुहाउने पानीको सुविधा छ, न त चौचालयमा पर्याप्त पानी आउछ । ३५ जनाका लागि एउटा मात्र प्रयोग गर्न मिल्ने सौचालय छ । ३५ जना व्यक्तिका लागि एक जना मात्र खाना खाजा बनाउने सहयोगी मित्र हुनुहुन्छ । उहाँ कुनै बेला विरामी पर्न सक्ने डरले हामीले गुनासो पनि गर्न सकेका छैनौं । किन भने उहाँ पनि विरामी पर्नु भयो भने हामी ३५ जना नै भोकै हुनेछौं । यहाँको व्यवस्थापनमा बस्नेको मानवीय भावना समेत नदेखेर हामी आश्चर्यमा परेका छौं । र, अहिले त नेपालमा संक्रमितको संख्या र जोखिम बढ्दै गएको छ । २६ जनामध्ये आधा जसो अव्यवस्थित क्वारेन्टाइनमै संक्रमित मरेका छन्, क्वारेन्टाइनबाटै संक्रमण फैलिएको समाचार पढिरहेका छौं । त्यही अनुसार सरकारले क्वारेन्टाइन र आइसोलेसन व्यवस्था गर्न सकेको छैन । मैले भगवान भरोसामै हात झिकेको अनुभव गरेको छु |