कोरोनाको महामारी र यसको प्रभाव

  •   काभ्रे
  •   ८ भाद्र २०७७, सोमबार
  •   पलान्चोक साप्ताहिक
विश्व कोरोनाको संकटबाट गुज्रिरहेको छ । कोरोनाकै कारण संसारको आर्थिक, सामाजिक र राजनीतिक संरचनाहरू निरन्तर कमजोर भइरहेका छन् । जसको प्रभाव र दवावबाट हाम्रो मुलुक पनि अछुतो रहन सकेन । अत्यन्त न्यून आएको  र आत्मनिर्भर हुन नसकेको हाम्रोजस्तो मुलुकमा कोरोनाले पनि नकारात्मक प्रभावको मुल्य कति हुन्छ भनेर अझै आँकलन गर्ने स्थिति छैन । यसले भौतिक, मानसिक र मानवीय क्षतिसमेत उत्तिकै रूपमा गराएको छ । 

आर्थिक क्षेत्रः
कोरोनाको महामारीले आम मानिस घरमा नै खुम्चिएर बस्न बाध्य हुनुपर्दा जीविकोपार्जनका लागि आइ परेको पेशा व्यवसायहरू ठप्प छन् । मानिसको आवागमन नहुँदा आर्थिक कारोवारहरू हुन सकेको छैन । आर्थिक कारोवार हुन नसक्दा मानिसको आय स्वतः घट्न पुगेको छ । लक डाउनको अवस्थामा सामान्य सुधार आए पनि महामारीको प्रभाव नै झन् झन् तीव्र रूपमा फैलिएका कारण व्यवसायिक क्षेत्रहरू सम्पूर्ण रूपमा चलायमान हुन सकेका छैनन् । जसकारण आर्थिक गतिविधिहरू सामान्य हुन सकिरहेका छैनन् । यसैले उद्योग, व्यवसाय, काम तथा रोजगारको क्षेत्र विश्रामको स्थितिमा छ भन्दा अतिशय नहोला । सरकारको साधारण खर्च भइरहे पनि विकास खर्चहरू अपेक्षितरूपमा हुन सकिरहेको छैन । राजश्व पर्याप्तरूपमा उठ्न नसक्दा सरकारको आय कमजोर अवस्थामा छ । विद्यालय, कलेज, सरकारी कार्यालयहरूको पूर्ण सञ्चालन हुन नसक्दा यससँग जोडिएका आर्थिक क्रियाकलापहरूसमेत बन्द भएका छन् । जसले आर्थिक चक्र प्रणली अवरूद्ध बनेको छ ।
सामाजिक क्षेत्रः
लक डाउनका कारण घरमै थुनिएर बस्नु पर्ने अवस्था आइरहँदा एवं कोभिड १९ को संक्रमण दर घट्न नसकेको परिस्थितिमा हिजोका दिनमा चलिरहेका सामाजिक गतिविधि अवरूद्ध हुन पुग्नाले सामाजिक आवश्यकताहरू संकुचित हुन पुगेका छन् । आय क्षेत्र अवरूद्ध हुँदा व्यक्ति, परिवार, समाज नै आर्थिक संकुचनको दायरामा समेटिन पुगेको छ । यसले सामाजिक क्षेत्रलाई नै ठूलो प्रभाव पारेको छ । बिहेबटुलो, चाडपर्व, रीति रिवाज र भोज भत्तेरजस्ता सामाजिक जमघटहरू पुरै बन्द छन् । आफन्त, इष्टमित्र साथिभाइकोमा हुने आवत जावतसमेत पुरै बन्द छ । जसले आकर्षित हुने आर्थिक व्यास समेत पुरै घटेको छ । चिनेजानेका नातेदारहरूसँगको भेटघाट पुनः कायम हुन सकेको छैन । जसले सामाजिक क्षेत्रसमेत प्रभावित भएको छ ।
राजनीतिक क्षेत्रः
मुलुकमा कोरोनाको प्रभाव विस्तार भएसँगै राजनीतिक संकट पनि चुलिएको छ । लकडाउनले राजनीतिक गतिविधिमा लगभग पुरै शुन्यता आएको छ । लुकिछिपी वा दुरी कायम गरेर हुने गरेका राजनीतिक कार्यक्रमहरूले हिजो गरिएजस्तै विभिन्न कार्यक्रमहरूको विरासत थाम्न सकेका छैनन् । राज्यले प्रभावकारी रूपमा कोरोना रोकथामको विधि प्रक्रिया अघि बढाउन नसक्दा सत्तासिन पार्टी भित्र व्यापक असन्तुलन पैदा भएको छ । यसका अलावा अन्य पार्टीहरू उसै पनि सरकारको कामकारवाहीप्रति असन्तुष्ट भइरहेका छन् । यस्तो अवस्थामा मुलुकको मात्र हैन विश्व राजनीतिक क्षेत्रमा नया तरंग सिर्जना भएको छ । मुलुकको राजनीतिमा व्यापक असन्तोष देखा परेको छ । गतिविधिहरू हुन नसक्नाले व्यक्ति व्यक्ति, समूह समूह, दल दलबीच अविश्वास पैदा भएको छ । जसले राजनीतिक क्षेत्रलाई नै अनिश्चयको बन्दी बनाएको छ । कोरोनाको प्रभाव र दवावको यस बीचमा समयमा पुरा गर्नु पर्ने भौतिक निर्माणको पाटो ओझेलिएको छ । जति निरन्तरतामा थिए त्यतिको निर्माण पुरा हुन सकेको छैन । बनिबनाउ भौतिक संरचनाहरू पनि प्राकृतिक प्रकोपको चपेटामा परेका छन् । जसको मर्मत सम्भारसम्म हुन सकेको छैन । सडक पुल पुलेसा, नहर, कुवा, विद्यालय, कलेज, सरकारी कार्यालयहरूको क्षति भएकोमा यसको मर्मत सम्भार वा पुननिर्माण समेत तत्काल हुन नसक्ने स्थिति छ । लक डाउन र कोरोनाको बढ्दो अवस्थाले सिर्जना गरेको बढ्दो त्रासका कारण आम मानिसको मानसिकतामा गहिरो असर परेको छ । कतिले मानसिक सन्तुलन गुमाएका छन् भने कतिले आत्महत्या समेत गरेका छन् । सूचना तथा सञ्चारमाथि व्यक्ति व्यक्तिको पहुँच भएको आजको युगमा कतिले डिप्रेशनका कारण ज्यान गुमाए भन्ने कुरा थाहा पाउन कठिन कुरा भएन । त्यसैले कोरोनाको प्रभाव चौतर्फी रूपमा परेको छ भन्न सकिन्छ ।